विभिन्न उद्देश्यले, विशेषगरी पर्यटनको बहानामा कम्बोडिया गई आफ्नो भिसाको अवधि समाप्त भएपछि पनि धेरै नेपाली नागरिकहरू त्यहाँ बसिरहेको र विभिन्न कानुनी झण्झटमा परेको भन्दै बैककस्थित राजदूतावासले सचेत रहनु अनुरोध गरेको छ । दुतावासले केही नेपाली नागरिकहरू कम्बोडियामा अवैधानिक रूपमा सञ्चालन भइरहेका अनलाइन स्क्यामिङ केन्द्रहरूमा संलग्न रहेको जानकारी समेत प्राप्त भएको भन्दै त्यस्ता गतिविधिमा संलग्न नहुन सचेत गराएको हो । अनलाइन स्क्यामिङ एक अन्तरदेशीय अपराध हो। यस प्रकारका गतिविधि नियन्त्रण तथा अन्त्य गर्न र यसमा संलग्न व्यक्तिहरूलाई कसुरको प्रकृतिअनुसार पाँचलाख अमेरिकि डलर सम्म जरिवाना र आजीवन कैदसम्मको सजाय हुने व्यवस्था सहित कम्बोडिया सरकारले गत हप्तादेखि नयाँ कानून लागू गरेको छ। साथै, अनलाइन स्क्यामिङ केन्द्रहरू बन्द गर्ने, नष्ट गर्ने तथा त्यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूलाई पक्राउ गर्ने अभियानलाई समेत तीव्र बनाएको बेला केहि नेपाली पनि कानुनी झण्झटमा फसेको बुझिएको छ ।
आफूलाई प्राप्त भिषा अवधिभन्दा बढी समय कम्बोडियामा नबस्न, कुनै पनि गैरकानूनी गतिविधिमा संलग्न नहुन तथा यदि त्यस्ता कार्यमा संलग्न हुनु भएको छ भने तुरुन्त त्यस्तो कार्य बन्द गरी नेपाल फर्कन नेपाली राजदूतावासले अनुरोध गरेको छ ।

त्यसैगरी दुतावासले उच्च तलब तथा आकर्षक सुविधाको प्रलोभनमा परी पर्यटकीय भिसामा कम्बोडिया लगायत अन्य मुलुकहरूमा रोजगारीका लागि नजान पुनः अनुरोध गरेको छ । वैदेशिक रोजगारीका लागि विदेश जानु अघि नेपालस्थित वैदेशिक रोजगार विभाग तथा सम्बन्धित मुलुकमा रहेका नेपाली राजदूतावास वा नेपाली वाणिज्यदूतावाससँग सम्पर्क गरी रोजगारदाता संस्था तथा रोजगारीको आधिकारिकता यकिन गरी वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान समेत अनुरोध गरेको छ ।
अनलाईन फारामको लिङ्कः https://shorturl.at/eSVAZ





