तेहरान — अमेरिका–इजरायलले शनिबार गरेको भीषण हमलामा इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनेई लगायत उच्च अधिकारी मारिएका छन् । रक्षामन्त्री अजिज नासिर जादेह, इरानी सेना रिभोलुसनरी गार्डस्का कमान्डर इन चिफ मोहम्मद पकपुर, सैन्य परिषद् प्रमुख अली शमखानी, रिभोलुसनरी गार्डस्का वायुसेना कमान्ड सैइयद माजिद मुसावी, सहायक गुप्तचर मन्त्री माहेम्मद शिराजीलगायत उच्च अधिकारी बैठकमा उपस्थित थिए । हमलामा उनीहरू सबै मारिएका छन् ।

केही दिनदेखि सार्वजनिक रूपमा नदेखिएका खामेनेई शनिबार सुरक्षा बैठकका लागि निवासमा आएका थिए । उनको निधनमा इरानले ४० दिनसम्म शोक मनाउने भएको छ भने ७ दिन राष्ट्रिय बिदा घोषणा गरेको छ ।
इजरायली सेनाले सर्वोच्च नेताको निवासमा ३० वटा बम खसालिएको दाबी गरेको छ । आक्रमणमा खामेनेईकी छोरी, ज्वाइँ र नातिनी पनि मारिएको इरानको समाचार एजेन्सी तस्मिनले जनाएको छ । इरानको संविधानअनुसार विज्ञहरूको भेलाले सर्वोच्च नेता चयन गर्छ ।
यस भेलामा सर्वसाधारणले प्रत्येक ८ वर्षमा ८८ जना धर्मगुरु चयन गर्छन् । सिया कानुनी प्रणालीको गहिरो ज्ञान भएको, राजनीतिक क्षमता, साहस र प्रशासनिक क्षमता भएको व्यक्ति सर्वोच्च नेता हुने संविधामा उल्लेख छ । इरानको संविधानको धारा १११ ले नयाँ सर्वोच्च नेता चयन नभएसम्मका लागि अस्थायी आयोगले जिम्मेवारी सम्हाल्ने व्यवस्था गरेको छ ।
आयोगमा राष्ट्रपति मसुद पेजेस्कियन, सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोलम हुसैन मोसेनी र अभिभावकीय आयोगका एक धर्मगुरु सदस्य रहन्छन् । अभिभावकीय आयोगको रिक्त स्थानमा शनिबार अयातुल्लाह अली रेजा आफ्रीलाई सदस्य नियुक्त गरिएको छ । भेलाले औपचारिक रूपमा नयाँ नेता चयन नगरेसम्म यी व्यक्तिले देशको नेतृत्व गर्नेछन् ।इरानका राष्ट्रपति पेजेस्कियनले अमेरिकासँग बदला लिनु आफ्नो देशको वैध अधिकार रहेको बताएका छन् । उनले शोक सन्देशमा भनेका छन्, ‘इस्लामिक गणतन्त्र इरानले यस ऐतिहासिक अपराधका अपराधी र आदेश दिनेहरूविरुद्ध न्याय खोज्नु र प्रतिशोध लिनु आफ्नो कर्तव्य र वैध अधिकार ठान्दछ । यो महान् जिम्मेवारी र दायित्व पूरा गर्न आफ्नो सम्पूर्ण शक्ति समर्पित गर्नेछ ।’
अमेरिका–इजरायलले गरेको संयुक्त हमलाको जवाफमा इरानले मध्यपूर्व क्षेत्रका विभिन्न सहरमा जवाफी हमला सुरु गरेको छ । आइतबार बिहान यूएईको दुबई, बहराइनको राजधानी मानामा र कतारको राजधानी दोहामा इरानी मिसाइल विस्फोट भएको थियो । तर क्षतिको विवरण आएको छैन ।
इरानले शनिबार अमेरिकाका सैन्य अखडालाई मात्रै लक्षित गरेको थियो । तर, दोस्रो दिन आइतबार विभिन्न सहरका सपिङ मल, होटल, पब तथा सार्वजनिक क्षेत्रलाई पनि निसाना बनाएको छ । पहिलो दिन ओमानबाहेक खाडी समन्वय परिषद् (जीसीसी) सदस्य सबै राष्ट्रमा आक्रमण भएको थियो । दोस्रो दिन ओमानको दुकम बन्दरगाहमा पनि आक्रमण गरिएको छ । ओमानले यस कदमको निन्दा गरेको छ । यसअघि अमेरिका–इरानबीचका प्रत्यक्ष तीन वार्ताको मध्यस्थता ओमानले गरेको थियो ।
इरानको रक्षा मन्त्रालयले शनिबार यूएईमा १३७ वटा मिसाइल र २०९ वटा ड्रोन प्रहार गरिएको दाबी गरेको छ । दुबईका दुई ठूला भवन पाम जुमेरा र बुज्र अल अरबमा पनि धूवाँको मुस्लो देखिएको छ । त्यसैगरी इजरायलले शनिबार एकै दिन १२ सयभन्दा धेरै बम खसालेको दाबी गरेको छ ।
अबुधावीको विमानस्थलमा इरानको आक्रमणमा एक व्यक्तिको मृत्यु भएको छ भने सात अन्य घाइते भएका छन् । इजरायली आक्रमणका क्रममा इरानमा कम्तीमा २ सय १ जनाको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अलजजिराले जनाएको छ । यसमा मिनावस्थित छात्रा प्राथमिक विद्यालयमा मृत्यु भएका १ सय ४८ छात्राको संख्या समावेश छ । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले मध्यपूर्वमा रहेका २७ वटा अमेरिकी अखडामा आक्रमण गरिएको जनाएको छ । इजरायली सेनाको तेल अभिभस्थित मुख्यालय हाकिर्या र सुरक्षा उद्योग कम्प्लेक्समा आक्रमण गरिएको इरानको दाबी छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रत्याक्रमणमा नउत्रन इरानलाई चेतावनी दिएका छन् । ‘उनीहरू प्रत्याक्रमणमा नउत्रनु राम्रो हुन्छ । यदि उत्रिए भने हामी उनीहरूलाई बलपूर्वक प्रहार गर्नेछौं । त्यस्तो शक्तिशाली प्रहार, जसलाई पहिले कसैले देखेको छैन ।’ रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भने अमेरिकी आक्रमणको निन्दा गरेका छन् । अन्तर्राष्ट्रिय कानुन उल्लंघन गर्दै अमेरिकाले खामेनेईको हत्या गरेको उनले आरोप लगाएका छन् । खामेनेईलाई रुसले एक उत्कृष्ट राज्य सञ्चालकका रूपमा सम्झने पनि बताए ।
यता, तेहरान, इसाफानलगायत सहरमा हजारौंको संख्यामा आन्दोलनकारीहरूले खामेनेईको मृत्युपछि खुसियाली मनाएका छन् । उनीहरूले अमेरिकी राष्ट्रपति ट्रम्पलाई धन्यवाद दिए । इरानमा २८ डिसेम्बरबाट सरकारविरोधी आन्दोलन सुरु भएको थियो । तर जनताको आक्रोशलाई सम्बोधन गर्नुको साटो सरकारले चरम दमन गरेको थियो । विश्वका विभिन्न देशमा बसेका इरानीहरूले पनि खुसियाली मनाएका छन् ।
कतिपय स्थानमा अमेरिकी आक्रमणको विरोधमा प्रदर्शन भएको छ । पाकिस्तानको कराँचीस्थित अमेरिकी कन्सुलेट कार्यालयमा इरानको सत्ताका समर्थकहरूले आक्रमण गरेका छन् । त्यसक्रममा सुरक्षाकर्मीले गोली चलाउँदा कम्तीमा ९ जनाको मृत्यु भएको छ ।
३७ वर्ष शासन गर्ने खामेनेई को हुन् ?
सन् १९३९ मा उत्तरपूर्वी इरानको मसहदमा खामेनेई जन्मिएका थिए । उनका बाबु अजरबैजानी मूलका हुन् । जो पहिले इराकमा एक चर्चित मुस्लिम नेता थिए ।
खामेनेईले आफ्नी आमा खादिजेह मिर्दमादीलाई कुरान र पुस्तक पढ्ने एक उत्साही महिलाका रूपमा वर्णन गरेका छन् । उनले आफ्नो छोरामा साहित्य र कविताप्रति प्रेम जगाइन् र पछि पहलवी राजवंशको शासनविरुद्ध छोराले गरेको आन्दोलनलाई समर्थन गरिन् ।
इरानका सर्वोच्च नेता अली खामेनेई । तस्बिरः एपीएफखामेनेईले चार वर्षको उमेरमा कुरान सिकेर आफ्नो अध्ययन सुरु गरे । मसहदको पहिलो इस्लामिक स्कुलमा आफ्नो प्राथमिक शिक्षा पूरा गरे । उनले उच्च माध्यमिक शिक्षा पूरा गरेनन्, बरु धर्मशास्त्र स्कुलमा गए र आफ्ना बुबा र शेख हासेम गाजविनीजस्ता समयका प्रख्यात इस्लामिक विद्वान्हरूबाट शिक्षा लिए । त्यसपछिका वर्षहरूमा उनले नजफ र कोममा उच्च शिक्षा लिए ।
सन् १९५३ मा सीआईए र बेलायती गुप्तचर (एमआई६) को समर्थनमा इरानका शाहले जननिर्वाचित सत्तालाई अपदस्थ गरे । प्रधानमन्त्री मोहम्मद मोसाद्देगलाई जेल चलान गरियो । यसको विरोधमा उत्रिएका खामेनेईलाई शाहका गुप्तचरहरूले पटक–पटक पक्राउ गरे । त्यसपछि दक्षिणपूर्वी इरानको दुर्गम सहरमा निर्वासनको सजाय सुनाइयो । उनी एकै पटक पहलवी शासनको अन्त्य गर्ने १९७८ को विरोध प्रदर्शनमा भाग लिन फर्किए । राजतन्त्र अपदस्थ भएपछि रुहोल्लाह खामेनेई सर्वोच्च नेता बने । अली खामेनेई १९८० मा रक्षामन्त्री बने । उनले छोटो रक्षामन्त्रीको कार्यकाल चलाउँदा इरान–इराक युद्ध सुरु भयो । त्यसपछि उनलाई इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सको पर्यवेक्षकको भूमिका दिइयो ।
१९८१ खामेनेईका लागि एउटा महत्त्वपूर्ण वर्ष सावित भयो । यस वर्ष विपक्षी समूह मोहाहिदिन–ए खाल्कले उनको हत्या प्रयास गरेको थियो, जो सफल भएन । यही वर्ष उनले राष्ट्रपति पद जिते । उनी इरानको पहिलो धर्मगुरु राष्ट्रपति हुन् । उनको कार्यकालमा ८ वर्ष इरान–इराक युद्ध चल्यो । १९८९ मा इस्लामिक क्रान्तिको नेतृत्व गरेका संस्थापक नेता आयतोल्लाह रुहोल्लाह खामेनेईको निधन भएपछि अली खामेनेई सर्वोच्च नेता बनेका थिए । त्यसपछि उनले इराकसँगको युद्धले ध्वस्त पारेका देशका पूर्वाधारलाई पुनर्निर्माण गर्न थाले । उक्त द्वन्द्वमा १० लाखभन्दा बढी मानिसहरू मारिएका थिए र अर्थतन्त्र ध्वस्त थियो ।
तर, सांस्कृतिक क्रान्तिका नाममा यस समय इस्लामिक सत्ताले कट्टर धार्मिक संस्कार तथा निरंकुशता फैलायो । अनिवार्य हिजाब लगाउनुपर्ने, महिलाले गाडी चलाउन नपाइने, सरिया कानुनअनुसार अपराधमा दण्ड सजाय, महिलाले यात्राका लागि बाहिर जान पतिको अनुमति लिनुपर्ने, प्रदर्शनकारीमाथि गुप्तचर वा देशद्रोहको आरोपमा फासी, अल्पसंख्यक धार्मिक समुदायमाथिको दमनलगायत नीतिहरू यसमा पर्छन् । इस्लामिक क्रान्तिअघि उदार रहेको समाजलाई यसले विपरीत बाटोमा डोर्यायो ।
सन् १९९७ मा सुधारवादी नेता मोहम्मद खतामी भारी मतले राष्ट्रपतिमा विजयी भए । उनी पश्चिमा देशसँग सम्बन्ध राम्रो बनाउनुपर्ने वकालत गरिरहेका थिए । यता, खामेनेईलाई पश्चिमा देशप्रति शंका र अविश्वास कायमै थियो । त्यसैले उनले देशका राष्ट्रपतिलाई नजरअन्दाज गरेर विश्वासपात्रहरूको आफ्नै समूह बनाउन थाले ।
राष्ट्रिय सेनाभन्दा पनि रिभोलुसनरी गार्डस् कर्प्सलाई बलियो बनाइएको थियो । राष्ट्रिय खर्चको धेरै हिस्सा यसैमा खर्च गरियो । किनकि, यो अली खामेनेईको विश्वासिलो र भरपर्दो सेना थियो ।
२००९ मा महमुद अहमदिनेजाद राष्ट्रपति चुनावमा विजयी भए । उनी खामेनेईजस्तै कट्टर पश्चिमा विरोधी थिए । राष्ट्रपति चुनावमा धाँधली भएको भन्दै देशमा आन्दोलन सुरु भयो । आन्दोलनकारीको समर्थन सुधारवादी उम्मेदवार मिर हुसेन मौसावीलाई थियो । एम्नेस्टी इन्टरनेसनलका अनुसार यसक्रममा हजारौंलाई पक्राउ गरिएको थियो र दर्जनौं मारिएका थिए । पश्चिमी देशहरूले आफ्ना धार्मिक प्रतिष्ठानलाई ढाल्न अशान्ति फैलाएको आरोप इरानी नेतृत्वले लगाए । उनको शासनकालमा देशभित्रै उदारवादी र प्रजातन्त्रवादीहरूले ठूलो प्रदर्शन गरे । यसलाई दबाउन इरानी सेनाले ठूलो बल प्रयोग गर्यो, जसमा सयौंको मृत्यु भयो । सन् २००९ मा राष्ट्रपति चुनाव धाँधलीपूर्ण भएको भन्दै इस्लामिक सरकारविरुद्ध चलेको जनप्रदर्शनलाई खामेनेईको सत्ताले दबाएको थियो ।
सन् २०१५ मा इरानले अन्तर्राष्ट्रिय प्रतिबन्धहरूबाट ठूलो समस्या व्यहोरेको थियो । आर्थिक दबाब कम गर्नका लागि तत्कालीन राष्ट्रपति हसन रुहानीले पश्चिमाहरूसँग गरेको वार्तालाई उनले समर्थन गरे । इरान र विश्व शक्तिहरूले हस्ताक्षर गरेको यो ऐतिहासिक सम्झौतामा इरानले आफ्नो आणविक कार्यक्रमलाई हतियार निर्माणमा प्रयोग नगर्ने सहमति भएको थियो । त्यसको बदलामा इरानलाई अन्तर्राष्ट्रिय बजारमा निर्बाध पहुँच सुनिश्चित गर्ने सहमति बनेको थियो । तर, त्यो सम्झौतामा हस्ताक्षर भएको दुई वर्षमै ट्रम्प अमेरिकामा राष्ट्रपति विजयी भए ।
सन् २०१८ मा उनले एकतर्फी रूपमा अमेरिका उक्त सम्झौताबाट बाहिरिएको घोषणा गरे । त्यसपछि फेरि इरानमाथि अन्तर्राष्ट्रिय प्रतिबन्ध लगाइयो । जवाफमा इरानले युरेनियमको संवर्द्धनको स्तर फेरि बढाउन थाल्यो । पछिल्लो रिपोर्टअनुसार इरानको युरेनियम संवर्द्धन स्तर ६० प्रतिशत हाराहारीमा छ । जबकि, हतियार बनाउनका लागि ८० देखि ९० प्रतिशत युरेनियम संवर्द्धन चाहिन्छ ।
यसबीच सन् २०१९ मा मूल्यवृद्धिविरुद्ध र सन् २०२२ मा हिजाब प्रतिबन्ध खुकुलो गर्नुपर्ने विषयमा चलेको आन्दोलनमा ठूलो संख्यामा मानिस मारिए । इरानले लेबनानमा हिजबुल्लाह, सिरियामा पूर्वराष्ट्रपति बसर अल–असद, प्यालेस्टाइनमा हमास, यमनमा हुथी विद्रोही र इराकका सशस्त्र समूहहरूसँग गठबन्धन गर्यो । अक्टोबर ७, २०२३ मा दक्षिणी इजरायलमा हमासको आक्रमणपछि इरानका सहयोगीहरूमाथि मध्यपूर्वमा इजरायलले लगातार हमला गर्यो । पश्चिमा प्रतिबन्धका कारण यी सहयोगीहरूलाई आवश्यक आर्थिक सहयोग गर्न पनि इरानलाई मुस्किल परिरहेको थियो ।
प्यालेस्टाइनमा हमास र लेबनानमा हिजबुल्लाह इजरायलको आक्रमणले लगातार कमजोर भए । डिसेम्बर २०२४ मा सिरियामा विद्रोहीहरूले बसर अल–असदलाई अपदस्थ गरे । इरानका सहयोगीहरू कमजोर भएको अवस्थालाई बुझेर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु आक्रामक देखिए । जुन १३, २०२५ मा इजरायली सेनाले अमेरिकालाई जानकारी दिएर इरानमाथि आक्रमण गर्यो । यसमा इरानको रिभोलुसरी गार्डस् कर्प्सका वरिष्ठ कमान्डरहरू र शीर्ष आणविक वैज्ञानिकहरूसमेत मारिए ।
आणविक स्थलहरू र नागरिक तथा सैन्य पूर्वाधारहरूमा आक्रमण भयो । इरानले तेल अभिभमा क्षेप्यास्त्र प्रहार गरेर आक्रमणको जवाफ दियो । झन्डै दुई हप्तासम्म पूर्ण युद्ध चल्यो । यही युद्धमा दौरान अमेरिकाले इरानका प्रमुख तीन आणविक पूर्वाधारमा आक्रमण गर्यो । जवाफमा इरानले पनि कतारस्थित अमेरिकी सेनाको अखडामा हमला गरेको थियो । तर, त्यो ठूलो परिमाणको थिएन ।
१२ दिने युद्धपछि इरानमा सरकारको पक्षमा केही समय माहोल बनेको थियो । तर, अर्थतन्त्रले सम्पूर्ण क्षेत्र डमाडोल भएकाले २८ डिसेम्बरमा साना व्यापारीहरूले आन्दोलन थाले । यसलाई समाजका सबै तप्काले साथ दिए । ९–१० जनवरीमा यो आन्दोलन उच्च थियो । आन्दोलनमा इरानी सेनाले ठूलो दमन गर्यो । यस दमनमा परेर झन्डै ३२ हजार नागरिक मारिएको दाबी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गर्दै आएका छन् ।
देशभित्रैको विरोध प्रदर्शन, अन्तर्राष्ट्रिय प्रतिबन्ध, सहयोगीहरूको कमजोर अवस्थालगायतलाई मध्यनजर गरेको इरानले पछिल्लो समय वार्तामा जोड दिइरहेको थियो । तर, युरेनियम संवर्द्धनको स्तर घटाउन तयार भए पनि पूर्ण रूपमा आफ्नो आणविक कार्यक्रम अन्त्य गर्न तयार थिएन । ओमानको मध्यस्थतामा भएका अमेरिकासँगका पछिल्ला तीनवटा अप्रत्यक्ष वार्ता यही मुद्दामा पुगेर अड्किए । ६ र १७ फेब्रुअरी र पछिल्लो समय २६ फेब्रुअरीमा वार्ता चलेको थियो । तेस्रो चरणको वार्ता प्रगतिउन्मुख रहेको इरानको दाबी थियो । तर, त्यसको दुई दिनभित्रै इरानमाथि आक्रमण गरेर अमेरिकाले सर्वोच्च नेता खामेनेईको हत्या गर्यो ।





