• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकी पुर्वराष्ट्रपतिहरुको रिटायर्ड लाईफ र व्यस्तता

  •  खबरमाला संवाददाता
  • २०८२ असार २९, आईतवार ०८:२२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    सुभाष शर्मा

     

    कल्पना गर्नुहोस् त, तपाईंले एक–दुई कार्यकाल देशको सर्वोच्च पदमा रहेर सेवा गर्नुभयो अनि देश र समग्र विश्वमै सर्वाधिक चर्चित व्यक्तिमा पर्नुभयो । तर अब, सेवा अवधि सकिएकाले पद छाड्ने वेला आएको छ । कहाँ जानुहुन्छ ? सन्दर्भ अमेरिकाका रिटायर्ड (पूर्व) राष्ट्रपतिबारे हो । अमेरिकामा धेरैजसो राष्ट्रपतिले चारदेखि आठ वर्ष सेवा गर्छन् । ह्वाइट हाउसमा केही वर्ष बिताएपछि सामान्य जीवनमा फर्कनु सधैँ सजिलो काम होइन । तैपनि, अमेरिकी पूर्वराष्ट्रपतिहरूले आफूलाई विभिन्न क्षेत्रमा संलग्न गराएर प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा देशसेवा गरेका हुन्छन् । भलै यसमा उनीहरूको जीविकोपार्जन पनि जोडिएको हुन्छ । अधिकांश रिटायर्ड राष्ट्रपति लेखनमा लागेका छन् भने केहीले पहिल्यैदेखि गर्दै आएको पेसा व्यावसायलाई निरन्तरता दिएका छन् त कोही समाजसेवामा सक्रिय छन् । बिल क्लिन्टन र बाराक ओबामाजस्ता धेरै राष्ट्रपति कार्यकालपछि आफ्ना अनुभव र दृष्टिकोण सेयर गर्दै सफल लेखक र सार्वजनिक वक्ता बनेका छन् ।

    केही पूर्वराष्ट्रपतिले कूटनीतिक क्षेत्रमा सक्रिय भएर विश्वव्यापी मञ्चमा देशको प्रतिनिधित्व गरेका छन् । केहीले गरिबी, शिक्षा वा स्वास्थ्य सेवाजस्ता विशेष क्षेत्रमा ध्यान केन्द्रित गर्न फाउन्डेसन वा परोपकारी संस्था स्थापना गरेका छन् । धेरैले पद छाडेपछि कानुन, शिक्षा वा सार्वजनिक सेवामा करिअर बनाएका छन् भने केहीले कम परम्परागत मार्ग अपनाएका छन् । पछिल्लोपटक पदावधि पूरा गरेका जोन बाइडेन भने गम्भीर रोगविरुद्ध लडिरहेका छन् । घातक क्यान्सरको उपचार गराइरहेकाले उनको रिटायर्ड लाइफको पूर्वयोजना अलपत्र परेको छ । यहाँ अमेरिकाका पूर्वराष्ट्रपतिले सेवा अवधि सकेपछि कसरी जीवन बिताएका छन् भन्नेबारे चर्चा गरिएको छ ।

    पुस्तक लेखन र भाषणबाटै मनग्य कमाउँछन् पूर्वराष्ट्रपतिहरू
    अमेरिकामा बहालवाला राष्ट्रपतिको तलब प्रतिवर्ष चार लाख डलर छ । यो एक सम्मानजनक रकम हो । यसबाहेक उनीहरूले एक लाख डलर यात्रा खर्च, ५० हजार फुटकर खर्च र १९ हजार डलर मनोरञ्जन खर्च पाउँछन् । वास्तवमा धेरैजसो पूर्वराष्ट्रपतिले पद छाडेपछि झन् धेरै आम्दानी गरेका छन् । पुस्तक लेखन र भाषणमार्फत यस्तो सम्भव हुने गरेको हो । पूर्वराष्ट्रपतिहरूले प्राय: आफ्नो कार्यकालसँग सम्बन्धित संस्मरण वा अन्य विषयका लागि प्रकाशन गृहसँग पुस्तक लेखन सम्झौतामा हस्ताक्षर गर्छन् । यी सम्झौता लाखौँ डलरका हुन्छन्, जसले उनीहरूको दृष्टिकोण र अनुभवमा जनताको चासो झल्काउँछ । उदाहरणका लागि, बाराक र मिसेल ओबामाले साढे ६ करोड डलरको पुस्तक सम्झौतामा हस्ताक्षर गरेका थिए । सन् २०२० मा प्रकाशित उनको पुस्तक अ प्रोमिस्ड ल्यान्ड उनको राष्ट्रपतित्वलाई समेट्ने संस्मरण हो । संस्मरणले ओबामाको जीवनको सुरुवाती वर्षदेखि मे, २०११ मा ओसामा बिन लादेनको हत्याको वरिपरिका घटनासम्मको अभिलेख राखेको छ । ४२औँ राष्ट्रपति बिल क्लिन्टनले पनि ओबामाको पथ पछ्याए । उनी एक करोड ४० लाख डलरबराबरको पुस्तक लेखन सम्झौतामा राजी भए । सम्झौता ओबामाको भन्दा कम भए पनि उनको कमाइले उनी पदमा रहँदा प्राप्त तलबलाई छायामा पार्‍यो । वास्तवमा देश चलाउनुभन्दा पुस्तक लेख्नु धेरै कम तनावपूर्ण छ । क्लिन्टनले २००४ मा व्यक्तिगत आत्मकथा माई लाइफ प्रकाशित गरे ।

    थटडटकमका अनुसार बिल क्लिन्टनले प्रतिभाषणबाट साढे दुई लाखदेखि साढे चार लाख डलरसम्म कमाउँछन् । सन् २०११ मा एउटा भाषणबापत उनले साढे सात लाख डलर पाएका थिए, जुन आधुनिक पूर्वराष्ट्रपतिमध्ये सबैभन्दा धेरै कमाइ थियो ।  बाराक ओबामा प्रतिभाषण चार लाख डलर कमाउँछन् । उनी इतिहासकार वा पेसेवर मिडिया कम्पनीको समूहले आयोजना गर्ने बहसमा वक्ताका रूपमा पनि आम्दानी गर्छन् ।

    जर्ज डब्लु बुस पद छाडेदेखि सयौँ कार्यक्रममा देखा परिसकेका छन् । उनले प्रतिभाषण एक लाखदेखि एक लाख ७५ हजार डलर कमाउँछन् । यसलाई मनन गर्ने हो भने उनले राष्ट्रपतिको रूपमा आफ्नो सम्पूर्ण दुई कार्यकालमा प्राप्त गरेकोभन्दा आठवटा भाषणबाट बढी रकम कमाउन सक्छन् ।

    जो पत्रपत्रिकामा लेख्नेदेखि पुरानै काममा फर्किए
    पूर्वराष्ट्रपति ऐन पारित हुनुको एउटा मुख्य कारण यो थियो कि विगतमा पद छोडेपछि धेरै पूर्वराष्ट्रपतिसँग आर्थिक रूपमा सबल हुने कुनै माध्यम थिएन । धेरै पहिलेका राष्ट्रपति सामान्य नागरिकसरह सर्वोच्च पदमा पुगे र प्राय: ह्वाइट हाउस छोड्दा नाम मात्र कमाए । नाम कमाए पनि उनीहरूको गोजीमा खासै दाम हुँदैनथ्यो । त्यसैले, नयाँ काम खोज्नुपर्ने उनीहरूको बाध्यता थियो ।

    न्युयोर्कस्थित भोकल डट मिडियामा प्रकाशित एक रिपोर्टअनुसार पद छाडेपछि जर्ज वासिंटनले एउटा ह्विस्की डिस्टिलरी खोले । यसबाट उनले मनग्य नाफा कमाए । तीसौँ राष्ट्रपति क्याल्भिन कुलिजले सेवा अवधि सकिएपछि पत्रपत्रिकामा लेख लेख्न थाले । आफ्नो कार्यकालमा नि:स्वार्थ सेवा गरे, तर पदावधि सकिएपछि जीविकोपार्जनका लागि क्षमताअनुसारको पेसा अपनाए । पुस्तक लेखेर परिवार धान्ने प्रयास गर्दै गर्दा अर्का पूर्वराष्ट्रपति ह्यारी ट्रुमनले भने आफ्नी सासूको घरमा आश्रय लिनुपरेको थियो । पूर्वराष्ट्रपति सेवा अवधि सकेपछि रित्तो हात फर्किए भन्ने दृष्टान्त रिटायर्ड लाइफमा उनले गरेका संघर्षका कथाले दर्शाउँछ । उनी निष्ठाका पर्याय नै थिए ।

    सम्भवत: निकै प्रसिद्ध र एक कार्यकाल राष्ट्रपति बनेका जिमी कार्टर सेवा अवधि सकेपछि पूर्ववत् बदाम फार्ममा फर्किए । निर्वाचित हुनुभन्दा पहिले चलाइरहेको कार्टरको फार्म उनको अनुपस्थितिमा ऋणमा चुर्लुम्म डुबेको थियो । राष्ट्रपतिको रूपमा कार्यकाल समाप्त भएपछि कार्टरले उक्त व्यवसाय पुनर्गठन गरी ऋण तिर्न सुरु गरे । यसपछि उनले मानवीय कार्य गर्न थाले । यही कामका लागि नोबेल शान्ति पुरस्कारसमेत प्राप्त गरे ।

    माथिका दृष्टान्तले देखाउँछ कि ह्वाइट हाउस छोड्नु भनेको कहिलेकाहीँ राम्रोसँग योग्य अवकाश प्राप्त गर्नुको सट्टा अस्थायी जागिरबाट बर्खास्त हुनुजस्तै हो ।

    पूर्वराष्ट्रपति जसले मृत्युपर्यन्त सेवा गरे
    सबै पूर्वराष्ट्रपति कुनै न कुनै रूपमा जनताको नजरमा रहन्छन् । यद्यपि, सामान्यतया तिनीहरू निर्वाचित अधिकारीको रूपमा पूर्ण–समय काममा फर्कँदैनन् । तर, केही पूर्वराष्ट्रपतिका लागि सार्वजनिक सेवाप्रतिको हुटहुटीले नयाँ भूमिका खोज्न प्रेरित गर्‍यो । सेवानिवृत्तिको जीवनबाट दिक्क भएका छैटौँ राष्ट्रपति जोन क्विन्सी एडम्स राष्ट्रपतिको रूपमा कार्यकाल समाप्त भएको दुई वर्षभन्दा कम समयपछि संसद्मा फर्किए । एडम्स कर्मप्रति यति समर्पित थिए कि अन्तिम सास रहुन्जेल सेवामै रहे । सेरेब्रल हेमोरेजबाट पीडित उनको सदनमै मृत्यु भयो ।

    महाभियोग लगाइएका पहिलो राष्ट्रपति एन्ड्रयु जोनसन आफ्नो छविलाई सुधार्न सार्वजनिक सेवामा फर्किए । कार्यकाल सकिएपछि सिनेटमा निर्वाचित हुने एक मात्र राष्ट्रपति बनेका जोनसनको राजनीतिमा पुनरागमन उनको प्रतिष्ठा पुनस्र्थापित गर्ने र राष्ट्रपतित्वको समयमा बदनाम गर्ने मानिससँग बदला लिने इच्छाबाट प्रेरित थियो । दुर्भाग्यवश सिनेटमा निर्वाचित भएको केही महिनापछि नै जोनसनकोे मृत्यु भयो ।

    रिडर्स डाइजेस्टमा प्रकाशित एक विवरणअनुसार २७औँ राष्ट्रपति विलियम हावर्ड टाफ्टको राष्ट्रपति पदपछिको सार्वजनिक सेवा एकदमै फरक थियो । राजनीतिलाई निरन्तरता दिएका एडम्स र जोनसनको विपरीत टाफ्ट न्यायापालिकाको महत्वपूर्ण हिस्सा बने । राष्ट्रपति हुनुअघि उनी वकिल हुँदै न्यायाधीशमा नियुक्त भए । उनले राष्ट्रपतिको कार्यकालपछिका वर्ष यलमा कानुन पढाउँदै बिताए । तसर्थ, कार्यकाल सकिएपछि उनी पुन: न्याय क्षेत्रमै जोडिए । अन्तत: उनी १९२१ मा प्रधानन्यायाधीश नियुक्त भए । धेरैले उल्लेख गरेका छन् कि टाफ्ट राष्ट्रपतिभन्दा बढी प्रधानन्यायाधीश बन्न चाहन्थे र उनी दुवै पद सम्हालेका एक मात्र व्यक्ति हुन् ।

    माथिका उदाहरणले यो देखाउँछ कि राष्ट्रपति पद सधैं धेरै मानिसको राजनीतिक करिअरको सबैथोक र अन्त्य पनि होइन् । यद्यपि, मननीय विषय यो हो कि हालैका पूर्वराष्ट्रपतिमध्ये कुनैले यस्तो योजना बनाउँदा उनीहरूले आफ्नो अवकाशमा प्राप्त गरेका धेरै लाभ त्याग्नुपर्छ ।

    यस्तो छ पूर्वराष्ट्रपतिको सेवा–सुविधा
    पदावधि समाप्त भएपछि पूर्वराष्ट्रपतिले नयाँँ क्षेत्रमा कामको सुरुवातसँगै अवकाशको आनन्द पनि लिने गरेका छन् । सन् १९५८ देखि अमेरिकाले आफ्ना पूर्वनेताहरूका लागि विशेष सुविधा उपलब्ध गराउँदै आएको छ । पूर्वराष्ट्रपतिसम्बन्धी एउटा कानुनले नै उनीहरूको सुविधा सुनिश्चित गरेको छ । त्यसो त पर्याप्त सुविधाबिच पूर्वराष्ट्रपतिहरूले आम्दानीको नयाँ स्रोतबारे खासै चिन्ता लिनुपर्दैन । तथापि, आफ्नो अनुभवलाई अन्य क्षेत्रमा निरन्तरता दिन र खाली समय सिर्जनात्मक काम गर्न कानुन तगारो बनेको छैन । कानुनत: पूर्वराष्ट्रपतिहरू दुई लाख ४६ हजार डलर वार्षिक पेन्सनको हकदार हुन्छन् । यसबाहेक उनीहरूलाई यात्रा, चिकित्सा हेरचाह र कर्मचारीको प्रबन्ध हुन्छ ।

    पूर्वराष्ट्रपतिहरू प्राय: जनताको नजरमा परिचित हुने भएकाले उनीहरूलाई आजीवन गोप्य सुरक्षा प्रदान गरिन्छ । यही सुरक्षाका कारण उनीहरूलाई सार्वजनिक सडकमा गाडी चलाउन अनुमति छैन, चालकको प्रबन्ध हुन्छ । यीमध्ये धेरै सुविधा पूर्वप्रथम महिला–पुरुषका सवालमा पनि लागू हुन्छ । पूर्वराष्ट्रपतिका विधवाहरूले पनि २० हजार डलर वार्षिक पेन्सन पाउँछन् । तर, पुन: विवाह गरेको खण्डमा सुविधा खारेज हुन्छ । त्यस्तै, पूर्वराष्ट्रपतिका छोराछोरीलाई पनि १६ वर्षको उमेरसम्म गोप्य सेवा सुरक्षा दिइन्छ । पूर्वराष्ट्रपतिको मृत्यु हुँदा उनीहरूको अन्त्येष्टि लागत पनि सरकारले व्यहोर्छ । सामान्यतया पूर्वराष्ट्रपतिको राजकीय सम्मानका साथ अन्त्येष्टि हुन्छ । यसो भनिए पनि उनीहरूसँग आफ्नै अन्त्येष्टिको योजना बनाउने छुट हुन्छ ।

    – एजेन्सीहरूको सहयोगमा  नयाँ पत्रिकामा प्रशासित यो लेख साभार गरिएको हो । 

    Post Views: 292
    प्रकाशित मिति: २०८२ असार २९, आईतवार ०८:२२
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यसरी हुनसक्छ युवा व्यवस्थापन
    क्यानडामा अन्तराष्ट्रिय विधार्थीमाथी कडाई, भारतीय विधार्थीको भिषामा उच्च गिरावट
    पासपोर्ट अभाव हुने संकेत, एक महिनाको लागि मात्रै बाँकी
    Advertisement
    ताजा अपडेट
    • १. बाढीपहिरोबाट भएको क्षतिमा ३ अर्ब ७८ लाखको बीमा दाबी

    • २. अबैध आप्रबासन रोक्न युरोपको २९ देशमा डिजिटल सीमा व्यवस्थापन प्रणाली लागूः के हो डिजिटल सीमा व्यवस्थापन प्रणाली ?

    • ३. यसरी हुनसक्छ युवा व्यवस्थापन

    • ४. क्यानडामा अन्तराष्ट्रिय विधार्थीमाथी कडाई, भारतीय विधार्थीको भिषामा उच्च गिरावट

    • ५. न्यूयोर्क मेयरमा माम्दानीको विजयपछि आप्रवासीलाई आईसको त्रास

    चर्चित
    • १. भोजपुर र सङ्खुवासभालाई जोड्ने अरूण नदीको लम्सुवाघाट पक्की पुल १५ वर्षसम्म किन बनेन ?

    • २. विदेशमा रहेका ७० लाख नेपाली मतदानबाट बन्चित गर्ने की मतदानको अधिकार दिने ?

    • ३. अमेरिकाको टेक्सासबाट चार दिनदेखि नेपाली विद्यार्थी वेपत्ता

    • ४. नेपाल फर्किन टिकट काटेका ११ राजदुतहरु सर्वोच्चको आदेशपछि रोकिए

    • ५. दैनिक एक हजार थान राहदानी उपलब्ध गराइने

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.